Advertisement
Search
Close this search box.

प्रदर्शनकारीद्वारा बङ्गलादेशका सरकारी भवनमा आगलागी  

बङ्गलादेशमा जारी आरक्षण विरोधी आन्दोलनका क्रममा प्रदर्शनकारीले एकैदिन धेरै सरकारी भवनहरूमा आगो लगाइदिएका छन् । 

बङ्गलादेश प्रहरीले जारी गरेको विज्ञप्तिमा सरकारी प्रसारण संस्था बि टिभी, राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सी, प्रहरी संरचना र अन्य सरकारी भवनहरूमा प्रदर्शनकारीले आगलागी, तोडफोडलगायत विनासकारी गतिविधि गरेको उल्लेख छ । 

बङ्गलादेश सरकारले बाहिरी विश्वसँगको सम्पर्क सञ्जाल अवरुद्ध गर्न चालेको कदमपछि आन्दोलनकारीले यस्ता गतिविधि गरेको बिहीबार जारी विज्ञप्तिमा जनाइएको छ । 

प्रहरीले हालसम्म अधिकतम धैर्यता कायम गरेको उल्लेख गर्दै विनाशकारी गतिविधि जारी रहे कानूनको अधिकतम प्रयोग गर्न बाध्य हुनेसमेत जनाएको छ ।  

निजामती सेवामा आरक्षणलगायत भर्नासम्बन्धी नियमहरूमाथि विद्यार्थीले विरोध जनाउँदै सुरु भएको  प्रदर्शन तथा झडपमा यस हप्तामा ३९जनाको मृत्यु भएको छ भने बिहीबार एकै दिनमा सबैभन्दा धेरै ३२  जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।  

बिहीबारको झडपमा १०४ जना प्रहरी अधिकारी, ३० जना पत्रकारसहित जम्मा ७०२ जना घाइते भएको निजी प्रसारण संस्था इन्डिपेन्डेन्ट टेलिभिजन नेटवर्कले जनाएको छ ।

बङ्गलादेशका ६४ वटा जिल्लामध्ये कम्तीमा २६ जिल्लामा बिहीबार झडप भएको नेटवर्कले जनाएको छ। रासस/एएफपी

प्रतिक्रिया दिनुहोस
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.