२० साउन ।
नेपाली कांग्रेस सुदूरपश्चिम संसदीय दलका नेता कमलबहादुर शाहले पुनः सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् ।
शाहले आइतबार प्रदेश प्रमुख नजिर मियाँसमक्ष मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन् ।
आज बसेको कांग्रेस सुदूरपश्चिम संसदीय दलको बैठकले शाहलाई मुख्यमन्त्रीमा अघि सार्ने सर्वसम्मत निर्णय गरेको थियो । शाहले एमाले र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा दाबी पेस गरेका छन् ।
५२ सदस्यीय सुदूरपश्चिममा कांग्रेसका १८, एमालेका १० र नाउपाका ७ सांसद रहेका छन् ।
यससँगै शाह दोस्रोपटक मुख्यमन्त्री बन्ने भएका छन् । उनले यसअघि १४ महिना नेतृत्व गरेर राजनीतिक समीकरण फेरिएपछि गत चैत २२ गते राजीनामा दिएका थिए ।
पुन: समीकरण बदलिंदा मुख्यमन्त्री बनेका एकीकृत समाजवादीका दीर्घ सोडारीले गत शुक्रबार राजीनामा दिएपछि शाहलाई फेरि मुख्यमन्त्री बन्ने बाटो खुलेको हो ।
सुदूरपश्चिमको मुख्यमन्त्रीको दौडमा कांग्रेसबाट प्रदेश सभा सदस्य बहादुरसिंह थापा, दिवानसिंह बिष्ट र प्रकाशबहादुर देउवा पनि थिए । तर, यसअघि मुख्यमन्त्री भइसकेका शाहले लामो समय काम गर्न नपाएकोले बाँकी काम पूरा गर्नका लागि उनकै नेतृत्वमा सरकार गठन गर्ने समझदारी बनेको हो ।