बुटवल ।
रुपन्देही उद्योग संघले आफ्नो ४७ औं स्थापना एवम् औद्योगिक दिवसका अवसरमा शुक्रबार बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान कार्यक्रममा ५५ युनिट रगत संकलन गरिएको छ ।
रक्त सञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको कार्यक्रमको सुभारम्भ गर्दै कार्यक्रमका प्रमुख अतिथि संघका पूर्वअध्यक्ष दिनेशराज रेग्मीले संघले आयोजना गरेको रक्तदान कार्यक्रमले सबै उद्योगीको शिर उँचो बनाउनुका साथै समाजमा सकारात्मक सन्देश प्रवाह गरेको बताउँदै उद्योगीहरुलाई सामाजिक उत्तरदायित्व वहन गर्नेतर्फ प्रोत्साहन बढेको बताए ।
कार्यक्रममा संघका अध्यक्ष दिलिप सापकोटाले रुपन्देही उद्योग संघको विगतको इतिहासलाई बचाउँदै समाजमा स्थापित भएर अगाडि बढ्न धेरै चुनौतीहरु रहेको उल्लेख गर्दै समाजप्रतिको दायित्वलाई कहिल्यै विर्सन नहुने धारणा राखे ।
अध्यक्ष दिलिप सापकोटाले संघका गतिविधिहरुलाई अगाडि बढाउने क्रममा सचेत र संयमित भएर लागेको बताउँदै उनले संघले विगतदेखि गर्दै आएका कार्यक्रमलाई निरन्तरता दिने र नयाँ कार्यक्रमहरु थप्दै जाने प्रतिवद्धता जनाए । कार्यक्रम संघका सचिव महिला मन्जु भुसालको संचालन तथा कार्यसमिति सदस्य राजु घिमिरेको संयोजन एवं स्वागतमा सम्पन्न भएको थियो ।
कार्यक्रम संयोजक राजु घिमिरेले रगत अभावमा कसैलाई समस्या आउन नदिन यसखालको कार्यक्रम गरिएको बताए । सो अवसरमा संघका पूर्व अध्यक्षज्यूहरु, पदाधिकारीहरु, सल्लाहकार, कार्यसमिति सदस्यज्यूहरु, उद्योगी एवं रक्तदाताहरुको उपस्थिति रहेको थियो । शुक्रबार साँझ स्थापना दिवसमा दीप प्रज्वलन गरिएको थियो । संघले भोली मूल समारोहबाट उद्योगी सम्मान, उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार, छात्रवृत्ति वितरण गर्ने प्रमुख कार्यकारी अधिकृत यादव भण्डारीले जनाए ।