१३ साउन ।
पूर्व भूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्यामा उनकै घरमा काम गर्ने युवकको संलग्नता रहेको प्रहरीले निष्कर्ष निकालेको छ ।
सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नम्बर १ स्थित रतनपुरमा रहेको फार्म हाउसमा गत साउन ६ गते राति रायको हत्या भएको थियो ।
उनको टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या भएको थियो ।
घटनाको रात रायसँगै उक्त घरमा काम गर्ने सहयोगी कविलासी नगरपालिका वडा नम्बर ३ स्थित मदनपुर घर भएका २१ वर्षीय रामउजैन राय यादव थिए ।
प्रहरीले उनलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा संलग्नता भेटिएको अनुसन्धानमा खटिएका एक प्रहरीले बताए । ती अधिकारीका अनुसार रामउजैनले हत्या गरेको समेत स्वीकारेका छन् ।
अहिलेसम्मको सबुत प्रमाणले उनैले हत्या गरेको देखिएकाे बयानमा पनि उनले हत्या गरेको स्वीकारिसकेकाे प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार रायको हत्या गरी रामउजैनले लगाएका गन्जी घर छेउमै फालेका थिए । हत्या गर्न प्रयोग गरेका उखु काट्ने फर्सा घरबाट ५० मिटरको दुरीमा झाडीमा फालेका थिए ।
राम उजैन पहिले भट्टीबाट इँटा ओसार्ने काम गर्थे ।
तीन महिना अघिमात्रै रायको काठमाडौंस्थित घरमा उनी काम गर्न पुगेका थिए । तर त्यहाँ उनको गतिविधि राम्रो नभएको भन्दै फेरि गाउँमा फर्काइएको बताइएको छ ।
त्यसयता रामउजैन रतनपुरमा बसिरहेका थिए ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंहका अनुसार करिब डेढ महिनादेखि फेरि रतनपुरस्थित रहेको पूर्व राज्यमन्त्री रायको खेतमा रामउजैनले काम गरिरहेका थिए ।
हत्याको राति उनले जग्गाको विवाद मिलाइदिनू भन्दै तीन जना अपरिचित व्यक्ति राति करिब ९ बजे घरमा आएको देखेको र उनैले हत्या गरेको हुनसक्ने प्रहरीलाई बताएका थिए ।
राति १२ बजेतिर आफू पिसाव फेर्न तल झरेको बेला राय सुत्ने कोठा खुला रहेको र ओछ्यान छेउमा रगतले लतपतिएको अवस्थामा लडेको देखेको रामउजैनको भनाइ थियो । तर विभिन्न कोणबाट अनुसन्धान गरेपछि उनैले रायको हत्या गरी झुक्याउन खोजेको प्रहरीले आशंका गरेकाे थियो ।