सैनामैना ।
रूपन्देही जिल्लाको सैनामैना नगरपालिकामा बसोबास गर्ने र हाल विदेश युएइमा रहेर रोजगारीका सिलसिलामा विभिन्न ठाउँहरूमा काम गर्दै आउनुभएका सैनामैना बासीले सैनामैनाका दुईवटा विद्यालयमा एक एक लाखको अक्षयकोष स्थापना गरेका छन्।
कार्यक्रमका प्रमुख अतिथि रहनुभएका सैनामैना नगरपालिकाका नगरप्रमुख फडिन्द्र प्रसाद शर्माले यो सैनामैना सेवा समाज युएइले विगतका वर्षहरूमा पनि यस क्षेत्रमा रहेका बिरामीहरूलाई आर्थिक सँगसँगै उनीहरूलाई चाहिने सामग्री समेत हस्तान्तरण गरेको कुरा स्मरण गर्दै नगरपालिकाका जनप्रतिनिधिलाई नै युएईसम्मको यात्रा गराई त्यहाँको विकास सँगसँगै समग्र सैनामैनाको विकासका लागि युएइमा रहेका महानुभावहरूको भूमिका के र कस्ता खालका हुनुपर्छ भन्ने विषयमा समेत चर्चा गरिएको र नेपालीहरूका महान पर्वहरू त्यहाँ पनि हर्ष उल्लासका साथ मनाउने गर्दा यस ठाउँको परिचयलाई समेत दुबैमा छुट्टै स्थान मिलेको कुरा समेत व्यक्त गर्नुभयो। आम सर्वसाधारणका बालबालिकालाई यो अक्षयकोषले ठूलो सहयोग पुर्याउने र आगामी दिनमा समेत यस्तै विद्यार्थीहरूका लागि अन्य कार्यक्रमहरुलाई पनि सहजतापूर्वक अगाडि बढाउन शुभकामना समेत व्यक्त गर्नुभयो।
कार्यक्रमको विशिष्ट अतिथि रहनुभएकी सैनामैना नगरपालिकाकी उपप्रमुख बिना रानाले आफ्नो दैनिक क्रियाकलापबाट केही रकम भएपनि बचाएर समिती नै बनाएर आफ्नो गाउँ ठाउँको विकासमा उल्लेखनीय भूमिकासँगै स्थानीय क्षेत्रमा रहेका शिक्षाका प्रतिभावान विद्यार्थीहरूका लागि गरिएको यो लगानीले भोलिका दिनमा यस ठाउँको सँगसँगै उक्त परिवारको जीवनस्तर समेत वृद्धि हुने कुरा व्यक्त गर्नुका साथै यो कार्यका लागि सैनामैना सेवा समाज युएइलाई आफूलाई तीज जस्तो भव्य कार्यक्रममा निमन्त्रणा गरी त्यहाँको रहनसहन सँगसँगै आफ्नो यहाँको चालचलनलाई विदेशमा समेत उत्कृष्ट ढङ्गबाट प्रस्तुत गर्न सफल रहेकोमा सम्पूर्ण टिमलाई नै धन्यवाद र आभार प्रकट गर्नुभएको थियो।
रु १ लाख बराबरको अक्षय कोष सैनामैना नगरपालिका वडा नम्बर ५ मा रहेको श्री मलमला देवी मावि विद्यालय र सैनामैना नगरपालिका वडा नम्बर ३ मा रहेको जनज्योति आधारभूत विद्यालयमा हस्तान्तरण गरिएको थियो । विद्यालयको तर्फबाट मलमला देवी मावि विद्यालयका प्राचार्य एम बहादुर क्षेत्रीले यो उत्कृष्ट कार्यका लागि सैनामैना सेवा समाज युएईलाई विशेष आभार र धन्यवादसँगै उहाँहरूको यो लगानीले उत्कृष्ट नतिजा दिनुका साथै सर्वोत्कृष्ट मानवीय कार्य भएको कुरा समेत व्यक्त गर्नुभएको थियो।
सैनामैना सेवा समाज युएइले वार्षिक रुपमा नै वर्षभरि नै सैनामैना नगरपालिकाभित्र रहेका विभिन्न निम्न वर्गीय परिवारमा रहेको रोगको समस्या सँगसँगै युएइमा बसोबास गरी नेपाल फर्किनका लागि समस्या भएका नेपालीहरूका लागि आर्थिक सहयोग, टिकटको सहयोग गर्नुका साथै सैनामैना नगरपालिकाभित्र हुने विभिन्न खालका सांस्कृतिक मनोरञ्जनात्मक एवं शैक्षिक क्रियाकलापमा आर्थिक सहयोग समेत गर्दै आइरहेको कुरा समेत संस्थाका अध्यक्ष विष्णुप्रसाद पन्थीले जानकारी गराउनुभयो ।
सैनामैना सेवा समाज युएइको उपाध्यक्ष महेश्वर घिमिरे स्वागत रहेको कार्यक्रममा नेपाल बिभाग उप प्रमुख मन्जु थापाको धन्यवाद मन्तव्य रहेको थियो। त्यस्तै कार्यक्रममा संस्थाका सदस्य बाबुराम पन्त, झबिन्द्र न्यौपाने, धर्मराज घिमिरे, शिक्षाप्रेमी महेश अधिकारी, सञ्चारकर्मी भुवन जिसी लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन सञ्चारकर्मी कृष्ण भण्डारीले गर्नुभएको थियो।