जलवायु विज्ञहरुले जलवायु परिवर्तनका कारण पृथ्वीको तापमान वृद्धि भई मनसुन प्रणालीमा पनि फेरबदल भएको बताएका छन् ।
यही परिवर्तनका कारण यो वर्षको मनसुन विगतका वर्षहरूको तुलनामा १० दिनपछि देशबाट बाहिरिएको उनीहरूले बताएका छन् ।
जलवायुविद् मञ्जित ढकालले मनसुन ढिलागरी बाहिरिनुलाई मनसुन प्रणलीमा भएको फेरबदल मान्छन् । फेरबदल हुनु जलवायु परिवर्तनको असरको रुपमा लिन सकिने प्रतिक्रिया उनले दिएका छन् ।
यही असोज ११ र १२ गतेको अविरल वर्षा जलवायु परिवर्तनको प्रभाव भएको उनको विश्लेषण छ । यद्यपि यस्ता जलवायुजन्य जोखिमको अनुसन्धान हुनुपर्नेमा उनी जोड दिन्छन् ।
उनले दिगो विकासको लागि जलवायुमैत्री विकासको अवधारणा कार्यन्वयन गर्न आवश्यक भएको बताएका छन् । ‘जलवायु अनुकूलनका कार्यक्रमलाई प्राथामिकता दिन अपरिहार्य भएको छ,’ ‘इन्टरगभर्नमेन्टल प्यानल अन क्लाइमेट चेन्ज’ प्रतिवेदन उद्धरण गर्दै उनले भने ।
मौसमविद् विष्णु घिमिरे पनि मनसुन प्रणाली ढिलो टुङ्गिनु जलवायु परिवर्तनको प्रभाव हो वा होइन भन्ने निष्कर्षमा पुग्न अनुसन्धान गर्नुपर्नेमा जोड दिन्छन् ।
जलवायु परिवर्तनको असरका कारण मनसुन प्रक्रियामा तलमाथि भएको हुनसक्ने उनको बुझाई छ ।