३० साउन ।
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले नागरिकलाई असुविधा हुने गरी कर्णाली राजमार्गमा राखिएका चेक प्वाइन्ट हटाउनका लागि सुरक्षा निकायलाई निर्देशन दिएका छन् । यातायात क्षेत्रमा देखिएका समस्याबारे प्रदेशस्थित सुरक्षा निकाय र यातायातसँग सम्बन्धित निकायका प्रतिनिधिहरूसँगको छलफलका क्रममा कँडेलले यस्तो निर्देशन दिएका हुन् ।
यातायात क्षेत्रका समस्याबारे प्रदेशस्थित सुरक्षा निकाय र यातायात व्यवसायी लगायतसँग सम्बन्धित निकायका प्रतिनिधिहरूसँग भएको छलफलमा मुख्यमन्त्री कँडेलले सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी नागरिक र व्यवसायी कसैलाई पनि असहज नहुनेगरी सुरक्षा जाँचको व्यवस्था मिलाउन निर्देशन दिए ।
‘सुर्खेतबाट दैलेख हुँदै जुम्लासम्म पुग्दा १७ स्थानमा चेक पइन्ट खडा गरिएको मैले पाएँ,’ उनले भने, ‘यति धेरै स्थानमा सुरक्षा जाँच गर्नु उपयुक्त हो वा होइन यसमा पुनर्विचार गनुपर्छ ।’
प्रचलित कानुन उल्लंघन गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिँदै उनले कानुन कार्यान्वयनका नाममा जनताले अनाहकमा दुःख दिन नहुनेमा जोड दिए । सुरक्षाको दृष्टिकोणले चेकजाँच आवश्यक भएतापनि यसको निश्चित मापदण्ड हुनुपर्ने बताए । कर्णाली प्रदेशका विभिन्न प्रहरी चेक प्वाइन्टमा प्रहरीले यातायात व्यवसायी र यात्रुलाई दुःख दिने गुनासो बढेपछि कँडेलले उक्त विषयबारे चासो दिएका हुन् ।
एउटा युनिटको कमजोरीलाई सिङ्गो सरकारको कमजोरीको रूपमा लिएर आलोचना हुने अवस्थालाई बदल्ने दायित्व कमजोरी भएकै स्थानबाट सुरु गर्नुपर्ने पनि उनले बताए । कार्यक्रममा कर्णाली प्रदेशका प्रहरी प्रमुख, प्रमुख जिल्ला अधिकारीलगायतको सहभागिता रहेको थियो ।