२६ साउन, ।
छाडा साँढेकाे आक्रमण बाट बुटवलमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मीकी ४५ वर्षीया सीता पाण्डे रहेकी छन् ।
साँढेले हानेर गम्भीर घाइते भएकी उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा शुक्रबार बेलुका मृत्यु भएको हो ।
गुल्मीको रेसुंगा नगरपालिका ४ घर भएकी सीता बुटवल उपमहानगरपालिका–३ गोलपार्कमा भाडामा बसेर पुल्चोक नजिक खाजा पसल चलाउँदै आएकी थिइन् ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख,प्रहरी नायव उपरीक्षक विजयराज पण्डितका अनुसार साउन २० गते डेरी पसलमा दूध लिन जाने क्रममा सीता सडकमा जुधिरहेका छाडा साँढेको आक्रमणमा परेकी थिइन् ।
दुई वटा साँढे जुध्दै गरेका बेला दूध लिन हिंडेकी सीतालाई साँढेले कुल्चिएर गम्भीर घाइते भएपछि उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो ।
बुटवल उपमहानगरले बुटवलकै शिवनगर सामुदायिक वनभित्र गौशाला बनाई छाडा चौपाया राख्ने गरेपनि पूर्णरुपमा नियन्त्रण नहुँदा सडकमा सवारी साधन दुर्घटनाको समेत जोखिम छ ।