२०८१ साउन २५
रुपन्देहीको सैनामैनामा पनि ३० औँ विश्व आदिवासी दिवस मनाईएको छ । नेपाल आदिवासी जनजाति महासंघ सैनामैना नगर समन्वय समिति परिषदले शुक्रबार मगर भवनमा शुभकामना आदान प्रदान गरेर विश्व आदिवासी दिवस मनाईएको हो ।
सैनामैना नगरपालिकाका प्रमुख फणीन्द्र प्रसाद शर्माले बहुजाति, बहुधार्मिक र बहुसंस्कृति विविधता भएको हाम्रो देशमा संविधानमा प्रत्याभूत गरिएका आदिवासी जनजातिहरुको हक अधिकार सुनिश्चितताका लागि नगरपालिका सदैव प्रयत्नरत रहेको बताउनुभयो ।
उहाँले आदिवासी समुदायले आफ्नोे पहिचान, रीतिरिवाज, भेषभुषा, बोलीचालीसाथै मौलिकता भुल्दै गएकोले नयाँ पुस्तालाई पुराना कुराहरूलाई सिकाउदै जानुपर्ने आवश्यकता औल्याउँदै पहिचान बचाउनुपर्ने जोड दिनुभयो।
सैनामैना नगरपालिका उपप्रमुख विना रानाले आफ्नो समुदायको पहिचान र अधिकारका लागि एक भएर अगाडि बढ्नुपर्ने जिकिर गर्नुभयो ।
नेपाल आदिवासी जनजाति महासंघ रुपन्देही जिल्ला समन्वय समिति परिषदका काेषाध्यक्ष दिपक प्रसाद श्रेष्ठ, थारु कल्याणकारीणि सभा केन्द्रीय पार्सद खुशिराम चौधरी, नेपाल मगर संघ लुम्बिनी प्रदेश सदस्य सुर्य विक्रम राना, नेपाल मगर संघ जिल्ला काेषाध्यक्ष टेक बहादुर रेश्मि, थारु कल्याणकारीणि सभा जिल्ला उपाध्यक्ष बुद्धिराम चौधरी, कल्याणकारीणि सभा सैनामैना नगर सभापति दुल बहादुर थारु लगायतले बोल्दै आदिवासी जनजाति समुदायका समस्या एव हक अधिकारबारे पहल गर्ने बताएका छन् ।
महासंघका नगर अध्यक्ष रामकृपाल थारुको अध्यक्षतामा भएको समारोहमा उपाध्यक्ष दुर्गामाया श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो l