सैनामैना
बजारमा भइराखेको मूल्यवृद्धि नियन्त्रण गर्न राष्ट्रिय उपभोक्ता मञ्चले शून्य भन्सारमा ४० हजार टन चिनी र १ लाख टन चामल आयात गर्न माग गरेको छ । मञ्चले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीलाई ज्ञापनपत्र बुझाएर यस्तो माग गरेको छ ।
‘अत्यावश्यक वस्तुका रूपमा रहेको चामल दालको अस्भाविक मूल्यवृद्धि भएको छ । केही कालोबजारी गर्न पल्केका व्यवसायीले सिन्डिकेट गर्दे कालोबजारी गर्न थालेका छन् । मोटा चामल प्रतिबोरा ६ सय रुपैयाँ बढेको छ । चिनीको मूल्य ९५ रुपैयाँबाट ११५ रुपैयाँ पुगेको छ,’ मञ्चले बुझाएको ज्ञापनपत्रमा भनिएको छ , ‘अनावश्यक मूल्य वृद्धि नियन्त्रण गर्न खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङमार्फत तत्काल ४० हजार टन चिनी शून्य भन्सारमा आयातको व्यवस्था मिलाउनुपर्छ । खाद्य कम्पनीमार्फत १ लाख टन चामल आयात गर्नुपर्छ ।’
सरकारले चालु आर्थिक वर्षदेखि दाल, गेडागुडी, धान र गहुँ आयातमा अग्रिम कर लगाएपछि बजारभाउ उकालो लाग्न थालेको छ । कर नलागेका वस्तुमा पनि अस्वाभाविक मूल्यवृद्धि भएको छ । व्यवसायीकै अनुसार अग्रिम आयकर लागेपछि कम्तीमा १० प्रतिशत मूल्य बढ्छ । तर बजार बजारभाउ भने मनोमानी बढेको छ । यस विषयमा उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापतिलाई समेत ध्यानाकर्षण गराएको अध्यक्ष महर्जनले बताए । Source: ekantipur