साउन ३१ ,सैनामैना ।
सैनामैना रुपन्देहीको सैनामैना १ स्थित श्री सैनामैना मेमोरियल स्कुलमा नगर सभाकै झल्को दिने गरि नमुना नगर सभा कार्यक्रम २०८१ सम्पन्न भएको छ । सैनामैना मेमोरियल स्कुलको आयोजना र निर्वाण कानूनी समाजको सहकार्यमा सम्पन्न उक्त कार्यक्रम श्रावण ३० र ३१ गते गरि सम्पन्न भएको हो ।
स्थानीय तहमा कानून निर्माण प्रक्रियामा नगर सभाको महत्त्वपूर्ण भूमिका हुने भएकोले उक्त कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।
सैनामैना नगरपालिका वडा नं १ का वडा सदस्य प्रेम भुसाल, विद्यालयका प्र.अ डिबि खत्री, सहायक प्र.अ पदम अर्याल, विद्यालयका शैक्षिक सल्लाहकार लिलाधर घिमिरे त्यस्तै विद्यालयका शिक्षक प्रतिनिधिहरु, विद्यार्थी एवं कानूनी समाजका पदाधिकारीहरुको उपस्थितिमा भएको कार्यक्रममा विद्यार्थीहरुले नमुना नगर सभाको प्रस्तुति दिएका थिए ।
नमुना सभाको प्रमुख पदमा विद्यालयका कक्षा ९ का विद्यार्थी भेषराज खत्रीले भूमिका निभाएका थिए भने उपप्रमुखमा कक्षा ९ कै मुस्कान भुसालले भूमिका निभाएकी हुन्। त्यस्तै प्रमुख प्रशासकीय अधिकृतमा कानूनी समाजका विष्णु गौतमले निभाएका थिए भने कार्यक्रममा सहभागी विद्यार्थीले वडा अध्यक्ष, वडा सदस्यहरुको भूमिका निभाएका थिए ।
नमुना नगर सभाका लागि विद्यालयको हलमा निर्वाण कानूनी समाजका सदस्यहरुले प्रशिक्षण दिनुभएको हो । नमुना नगर सभामा विद्यालयमा अध्ययनरत ६० जना भन्दा बढी विद्यार्थीहरुको सहभागीता थियो ।
कार्यक्रममा सहभागी विद्यार्थीहरुले सैनामैना नगरपालिकाको आर्थिक वर्ष २०८१/८२ को निति तथा कार्यक्रम, बजेटमा भएका कुरामा असन्तुष्टि पोख्दै त्यसलाई सच्चाउन माग गरेका छन् । सहभागी विद्यार्थीले नगरले बढाएको कर, विकास निर्माणमा भएको ढिलासुस्ती, नगर भित्र भएको भष्ट्रचार,अनियमितता एवं गलत कामको विरोध जनाएका थिए । कार्यक्रममा नगरसभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक निति तथा कार्यक्रम पारित समेत भएको छ ।
कार्यक्रमको समापन समारोहमा बोल्दै प्रमुख अतिथि सैनामैना नगरपालिका वडा नं १ का वडा सदस्य भेषराज भुसालले नमूना नगर सभा एक महत्त्वपूर्ण कार्यक्रम भएकोले अब पालिका स्तरबाट नै यस्तो किसिमको कार्यक्रम शुभारम्भ गरिनुपर्ने उल्लेख्य गर्नुभयो ।
निर्वाण कानूनी समाजले यस्तो किसिमको कार्यक्रम आगामी दिनमा पनि गर्ने उल्लेख्य गर्दै विद्यालयसँग सदैव सहकार्य गर्न प्रतिबद्ध रहेको निर्वाण कानूनी समाजका अध्यक्ष विजय सुनारले जिकिर गर्नुभयो ।
कार्यक्रममा विद्यार्थीको तर्फबाट मन्तव्य राख्दै पारसा खत्रीले नमुना नगर सभा कार्यक्रमले आफूहरुलाई नेतृत्व विकास गर्ने काममा मद्दत मिल्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्तो कार्यक्रममा सहभागी हुन आफूहरु आतुर रहेको बताइन् ।
कार्यक्रमको समापन मन्तव्य राख्दै विद्यालयका प्र.अ एवं कार्यक्रमका अध्यक्ष डिबि खत्रीले पढेको कुरा व्यवहारमा उतार्न यस्तो किसिमको कार्यक्रमले मद्दत मिल्ने उल्लेख गर्दै आमागी दिनमा पनि कानूनी समाजसँग सहकार्य कार्यक्रम गरिने प्रतिबद्धता जनाउनुभएको छ ।
विद्यालयका अतिरिक्त विभाग प्रमुख प्रकाश चौधरीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रम साउन ३० र ३१ गते गरि दुई दिन सम्म सञ्चालन भएको आयोजकले बताएको छ ।
निर्वाण कानूनी समाजले पछिल्लो समय समाजिक एवं शैक्षिक विषयमा केन्द्रीत रहि विभिन्न कार्यक्रम गर्दै अाएको कानूनी समाजले जनाएको छ ।सैनामैना नगरपालिकामा दर्ता भई सञ्चालित यस कानूनी समाजको नेतृत्व कानूनका विद्यार्थीहरुले गरिरहेका छन् ।