कृष्ण भण्डारी
रूपन्देही जिल्लामा रहेको रूपन्देही क्रिकेट सङ्घद्वारा आयोजित दुई दिने “ओ” लेभल क्रिकेट कोचिङ तालिम आज एक कार्यक्रमका बीच समापन भएको छ।
कार्यक्रमको प्रमुख अतिथि रहनुभएका रूपन्देही क्रिकेट सङ्घका संस्थापक अध्यक्ष प्रेमकुमार सेन्चुरीले
आफू सदैव क्रिकेट विकास र क्रिकेटको निकासका लागि तत्पर रहेर लागिरहेको र लागिरहने कुरा व्यक्त गर्नुभयो। यो बर्खाको बेला अर्थात् क्रिकेटको मौसम नभएतापनि यो समयमा पनि यसरी क्रिकेट कोचिङका विषयमा आफ्नो अबलता देखाउनुमा रुपन्देही क्रिकेट सङ्घ परिवारलाई धन्यवाद ज्ञापन समेत गर्नुभयो।
उहाँले हिजोका दिनलाई स्मरण गर्दै सबै कुरा काठमाडौँ केन्द्रकृत भएतापनि अहिले आएर पछिल्लो चरणमा रूपन्देही पनि सबै कुरामा अब्बल रहेको कुरा व्यक्त गर्नुभयो।
कार्यक्रममा प्रशिक्षार्थीहरूको तर्फबाट बोल्दै कृष्ण भण्डारीले यसरी कार्यक्रम आयोजना गर्नु र यो लेभल कार्यक्रमको व्यवस्थापन र अन्तर्राष्ट्रिय लेबलका कोचहरुबाट तालिम उपलब्ध गराउनु आफैमा उत्कृष्ट रहेको र आगामी दिनमा पनि यसरी नै यो सङ्घले आफ्ना कार्यक्रमलाई निरन्तरता दिओस भन्ने शुभकामना एवं कार्यक्रम आयोजना प्रति धन्यवाद समेत व्यक्त गर्नुभएको थियो।
उक्त कोचिङको प्रमुख प्रशिक्षकको रुपमा नेपाली क्रिकेट टिमका एसिस्टेन्ट कोच बसन्त शाहीले तालिम दिनुभएको थियो भने उहाँलाई पूर्व राष्ट्रिय खेलाडी एवं प्रशिक्षक शंकर राना र पूर्व लुम्बिनी प्रदेशका क्याप्टेन कृष्ण कार्कीले सहजीकरण गर्नुभएको थियो ।
सिद्धार्थ क्रिकेट रङ्गशाला भैरहवामा सञ्चालन भएको उक्त कोचिङ तालिममा रुपन्देही भरिका २४ जना सहभागीले सहभागिता जनाएका थिए।
कार्यक्रमको अध्यक्षता रुपन्देही क्रिकेट सङ्घका अध्यक्ष हरि थापाले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन रुपन्देही क्रिकेट सङ्घका सचिव एवं अन्तर्राष्ट्रिय एम्पायर सञ्जय गुरुङले गर्नुभएको थियो ।