बुटवल । रुपन्देहीको तिनाउ नदीमा डुबेर एक जना बालकको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।
बुटवल उपमहानगरपालिका-१, सिर्जनानगरमा रहेको आफन्तमा आएका दुई बालक नदीमा पौडी खेल्ने क्रममा बगेका हुन । तिनाउ नदीमा बगेकामध्ये १२ वर्षीय विवश खत्रीको शव नदी छेउमा भेटिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।
आफ्नी आमासँग सानी आमाको घरमा भेट गर्न आएका बागलुङको बरेङ गाउँपालिका- ४ घर भई सिर्जनानगर बस्ने १२ वर्षीय विवश खत्री र सैनामैना नगरपालिकाका ८ वर्षीय विप्रन पाण्डे तिनाउ नदीमा बगेका हुन् । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार तिनाउ नदीमा पौडी खेल्न गएका तीन जनामध्ये दुई जनालाई नदीले बगाएको देखेपछि सँगै गएका अर्का बालकले आफन्तलाई खबर गरेका थिए ।
तिनाउ नदीमा बगेका दुवै बालक दिदी बहिनीका छोरा हुन् । पण्डितका अनुसार नदीमा बेपत्ता विप्रन पाण्डेको खोजी भइरहेको छ । SOURCE:global awaj