रूपन्देही जिल्लाको सैनामैना नगरपालिका वडा नम्बर ३ मा रहेको दुर्गा भवानी मन्दिर प्रस्तावित शैल्यपुत्रीधाम आजबाट सन्ध्याकालीन आरती शुभारम्भ गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि रहनुभएका सैनामैना नगरपालिकाका नगर प्रमुख फणेन्द्र प्रसाद शर्माले यो धार्मिक, पौराणिक एवं धार्मिक आस्थाको केन्द्र रहेको दुर्गा भवानी मन्दिर यस क्षेत्रकै लागि गरिमाको रूपमा विकास गर्न लागिएको हुँदा शैल्यपुत्री धाम विश्वमा नै एकमात्र उच्चकोटीको मन्दिर निर्माण हुँदा यस क्षेत्रको नै सांस्कृतिक, पर्यटकीय एवं धार्मिक सँगसँगै मन्दिर दर्शन गर्न आउँदा पारिवारिक र संस्कारको पनि विकास हुने कुरा व्यक्त गर्नुभयो।
कार्यक्रममा सैनामैना नगरपालिकाका निवर्तमान नगर प्रमुख चित्रबहादुर कार्की, सैनामैना नगरपालिका वडा नम्बर ३ का अध्यक्ष ताम बहादुर पुर्जा, वडा सदस्य एवं जनप्रतिनिधि र मन्दिरका पूर्व व्यवस्थापन समिति अध्यक्ष, सल्लाहकार, वर्तमान समिति, सल्लाहकार र यस क्षेत्रका धार्म प्रति आस्थावान श्रद्धालु भक्तजनहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा दुर्गा भवानी मन्दिर एवं प्रस्तावित शैल्यपुत्री धामका अध्यक्ष कृष्ण प्रसाद कँडेलले अब बाट प्रत्येक एकादशीमा शृङ्गेश्वर आरती सन्ध्याकालीन प्रहरको ठीक ७ बजे शुभारम्भ गरिने र प्रत्येक महिनाको १ गते मन्दिरमा सन्ध्याकालीन भक्ति भजन कीर्तन प्रत्येक महिना नै गरिने कुरा जानकारी गराउनु भयो ।
दुर्गा भवानी मन्दिर व्यवस्थापन समितिको आयोजनामा मन्दिरमा सन्ध्याकालिन आरती हुनेछ र धर्म, संस्कृति मार्फत पहिलाे पटक धार्मिक पर्यटनकाे विकास गर्ने उद्देश्यले सन्ध्याकालिन आरती बुधबार देखी सुरु गरिएको कुरा कँडेलले जानकारी गराउनुभयो।
त्यस्तै कार्यक्रममा सन्ध्याकालीन आरतीको महत्व बारे विशेष जानकारी पण्डित आचार्य विष्णु ज्ञवालीले गराउनु भएको थियो भने कार्यक्रमको सञ्चालन संस्थाका सचिवले गोकर्ण आचार्य गर्नुभएको थियो।