बुटवल,४ भदौ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री एमाले संसदीय दल नेता चेतनारायण आचार्यले आज विश्वासको मत लिदैछन् ।
आज दिउँसो बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिन लागेका हुन् ।
कांग्रेसका २७ र एमालेका २९ गरी ५६ प्रदेश सभा सदस्यको समर्थनमा साउन ७ गते मुख्यमन्त्रीमा नियुक्त भएका आचार्यले सहजै विश्वासको मत पाउने सम्भावना छ ।
कांग्रेस एमालेसँगै उनलाई साना राजनीतिक दलले समेत विश्वासको मत दिने भएका छन् ।
प्रदेश सभामा रहेका बढी भन्दा बढी राजनीतिक दल र सांसदको समर्थन जुटाउनेगरी तयारी भएको एमाले प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले बताए ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई विश्वासको मत दिन सत्तारुढ दल कांग्रेस, एमालेसहित साना दलले हृवीप जारी गरेका छन् ।
मुख्यमन्त्री आचार्यलाई विश्वासको मत दिन कांग्रेस-एमालेसहित साना दलको ह्वीप जारी गरेका छन् ।
प्रदेश सभामा सहभागी १२ राजनीतिक दल मध्ये साना राजनीतिक दलले समेत मुख्यमन्त्री आचार्यलाई विश्वासको मत दिने भएका छन् ।
सरकारलाई जसपा २, जसपा नेपाल १ र नागरिक उन्मुक्ति पार्टीका ४ सांसदले समर्थन गरेका छन् । लुम्बिनी प्रदेशसभामा विपक्षमा माओवादी १०, राप्रपा ४, नेकपा एस, राजमो र स्वतन्त्र १/१ गरी १७ सदस्य रहेका छन् । विपक्षमा रहेकाहरुको समेत मत लिनेगरी सत्तासाझेदार दल भित्र तयारी छ ।
८७ सदस्यीय लुम्बिनी प्रदेशभामा बहुमतको लागि ४४ सांसद संख्या चाहिन्छ ।
मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिने व्यवस्था अनुसार मंगलबार दिउँसो १ बजे लुम्बिनी प्रदेशसभामा आचार्यले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए ।