१४ साउन ।
कास्कीको पोखरामा सोमबार बिहान स्कुल बस दुर्घटना हुँदा आमाछोराको मृत्यु भएको छ । दुर्घटनामा एक विद्यार्थी र विद्यालयमा सहयोगीका रूपमा कार्यरत महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पोखरा महानगरपालिका–२१ बाट विद्यार्थी बोकेर पोखरा–१७ स्थित एलपी देवकोटा विद्यालयतर्फ आउँदै गरेको ग१क ६२१९ नम्बरको बस दुर्घटना भएको थियो । पोखरा–२१ स्थित मट्टिखान जाने सडकको थुन्कु भन्ने ठाउँमा बस दुर्घटना हुँदा चालक, सहचालकसहित ३० जना घाइते भएका थिए ।
उक्त दुर्घटनामा घाइते भई गण्डकी मेडिकल कलेजमा उपचाररत पोखरा–२१, रामादीका ६ वर्षीय प्रिन्स विकको मृत्यु भएको हो । प्रहरीका अनुसार, सोही विद्यालयमा सहयोगीका रूपमा कार्यरत ३३ वर्षीया आरती विकको पनि उपचारका क्रममा मृत्यु भएको छ । उनीहरू आमाछोरा हुन् ।
दुर्घटनामा अरू २८ जना घाइते भएका छन् । घाइतेहरूकाे गण्डकी मेडिकल कलेज, मणिपाल शिक्षण अस्पताल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।