सैनामैना, माघ १५
रातिमा सुरु भएर रातिमै सकिने रुपन्देही जिल्लाको सबैभन्दा पुरानो गाउँको नामबाट सञ्चालन हुने भड्छा महोत्सव आज देखि सुरु हुने भएको छ । ११४ औं भड्छा महोत्सव तथा माघे औंसी रात्रीकालीन मेला आज देखि तीन दिन सम्म सञ्चालन हुने छ । रुपन्देही जिल्लाको सैनामैना नगरपालिका –८ भड्छामा लाग्ने मेला भड्छा गाउँसमाज सैनामैना –८ को आयोजनामा सञ्चालन हुने छ । मेला माघ १५, १६ र १७ गते तीन दिन लाग्ने छ ।
भड्छा महोत्सव तथा रात्री माघे आंैसी मेला विगतका बर्षजस्तै यस बर्ष पनि थारु समुदायको सांस्कृतिक पहिचान र स्थानीय कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यसहित मेला आयोजना गर्न लागिएको सैनामैना –८ का अध्यक्ष तथा मेला मूल आयोजक समितिका संयोजक बुद्धिराम चौधरीले बताउनुभयो ।
परापूर्वकालदेखि चल्दैआएको मेलाको इतिहासको संरक्षण तथा सम्बद्र्धन गर्ने तथा थारु समुदायको बसोबास र पहिचानलाई जोगाई राख्न बर्सेनी भड्छा महोत्सव सञ्चालन गर्दैआएको अध्यक्ष चौधरीले बताउनुभयो ।
मेलामा थारु संस्कृति झल्किने पहिरन, पुरानो सामग्री, थारु समुदायको ऐतिहासिक बर्का नाच, झुमरा नाच, थारु परिकारका स्टलहरु, वडा स्तरीय झुमरा नाच प्रतियोगिता, विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता, खुला वडास्तरीय भलिबल प्रतियोगिता हुने आयोजकले जनाएको छ । मेला हेर्न रूपन्देही मात्र नभइ कपिलवस्तु, नवलपरासी, दाङसहित पश्चिमका थारू समुदायका प्रतिनिधि आउनेगरेको आयोजकले जनाएका छन् ।