सैनामैना मुर्गिया
रुपन्देही जिल्लाको सैनामैना नगरपालिका वडा नम्बर ४ मा रहेको आदर्श युवा क्लबद्वारा आयोजित एवाईसी क्विज च्याम्प सिजन टु को उपाधि सुनगाभा पब्लिक स्कुलले जितेको छ ।
प्रतियोगितामा सैनामैना नगरपालिका भित्रका १६ विद्यालयको सहभागिता रहेको थियो भने उक्त कार्यक्रम दुई चरणमा विभाजन गरिएको थियो।
प्रतियोगितामा प्रथम स्थान सैनामैना नगरपालिका वडा नं ३ मा रहेको सुनगाभा पब्लिक स्कुल, दोस्रो स्थान सैनामैना नगरपालिका वडा नं १ मा रहेको लिटिल वडर्स इंग्लिस स्कुल, तेस्रो स्थान सैनामैना नगरपालिका वडा नम्बर ४ मा रहेको ग्यालेक्सी इंग्लिस बोर्डिङ स्कुल र सान्त्वनास्थान सैनामैना रानीबगियामा रहेको सैनामैना माविले प्राप्त गरेको थियो।
प्रतियोगितामा प्रथम स्थान हासिल गर्नेले नगद रु १५ हजार सिल्ड, मेडल र प्रमाणपत्र दोस्रो स्थान हासिल गर्नेले नगद रु १० हजार सिल्ड, मेडल र प्रमाणपत्र र तेस्रो स्थान हासिल गर्नेले ५ हजार सिल्ड, मेडल र प्रमाणपत्र र सान्त्वना स्थान प्राप्त गर्नेलाई आकर्षक गिफ्ट यम्पर रहेको थियो। गत वर्ष पनि यो प्रतियोगिताको उपाधि सुनगाभा पब्लिक स्कुलले नै जितेको थियो।
कार्यक्रमका प्रमुख अतिथि रहनुभएका सैनामैना नगरपालिकाका नगरप्रमुख फणिन्द्र प्रसाद शर्माले हरेक क्षेत्रबाट उदयमान भइरहेका क्लबहरुले यस्ता कार्यहरू निरन्तरता दिने हो भने हाम्रा भाइबहिनीहरू राम्रो मार्गमा हिँड्नुका साथै क्लबमा आबद्ध भएका भाइबहिनीहरूको पनि भविष्य उज्जवल रहने कुरा व्यक्त गर्नुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि रहनुभएका सैनामैना नगरपालिका वडा नम्बर ४ का अध्यक्ष राम प्रसाद अधिकारीले विद्यार्थीमा रहेको अन्तरनिहित प्रतिभालाई उजागर गर्ने काम यो क्लबले निरन्तर गरिरहेको र गत वर्ष पनि यो कार्यक्रम भएको र त्योभन्दा पहिला पनि यस क्लबले सामाजिक रुपान्तरणका लागि वृक्षरोपण, सरसफाई, रक्तदान सँगै फुटबल प्रतियोगिता समेत आयोजना गरेर छुट्टै स्थान क्लबले बनाएको आफ्नै वडामा रहेको क्लबप्रति गर्व महसुस भएको धारणा समेत व्यक्त गर्नुभयो । कार्यक्रममा सप्तऋषि बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सचिव मित्रबहादुर एसी, स्थानीय विद्यालयहरूका प्रधानाध्यापक एवं प्रतिनिधि, शिक्षा प्रेमी, क्लबका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहेको थियो।
प्रतियोगितामा आदर्श युवा क्लबका अध्यक्ष एवं कार्यक्रमका अध्यक्ष कोषराज बस्नेतले सम्पूर्णलाई स्वागत गर्नुका साथै विद्यार्थीहरूलाई जितको शुभकामना व्यक्त गर्नुभएको थियो भने औपचारिक कार्यक्रमको सञ्चालन क्लबका उपाध्यक्ष प्रेम न्यौपानेले गर्नुभएको थियो र कार्यक्रममा पिआरओ दिनेश न्यौपानेले कार्यक्रमलाई सञ्चालन गर्नुभएको थियो।