सैनामैना ।
स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नारासहित सैनामैनामा यस वर्षको राष्ट्रपति रनिङशील प्रतियोगिता आगामी पुष ७ गतेबाट सुरु हुने भएको छ । सैनामैना नगरपालिकामा संचालित सामुदायिक तथा सस्थागत विद्यालयका प्रधानध्यापक, नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र सैनामैना नगर खेलकुद समितिको संयुक्त भेलाले आगामी पुष ७ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको हो । यस वर्षको राष्ट्रपति रनिङशील प्रतियोगिता आठौं राष्ट्रपति रनिङशील प्रतियोगिता हो प्रतियोगिता पौष ११ गते सम्म सञ्चालन हुने सैनामैना नगर खेलकुद समितिका अध्यक्ष खिम श्रेष्ठले बताउनुभयो । उहाँले सहभागी मध्ये उत्कृष्ट खेलाडीहरुले जिल्ला स्तरमा र त्यसपछि प्रदेशमा सहभागिता जनाउने समेत जानकारी गराउनुभयो ।
प्रतियोगिता स्थानीय खेलकुद मैदानमा आयोजना हुनेछ, जसमा विभिन्न उमेर समूहका विद्यार्थीहरूले सहभागिता जनाउनेछन । प्रतियोगिताको मुख्य उद्देश्य विद्यार्थीहरूमा खेलकुदप्रति रुचि जागरण गराउनु र शारीरिक तन्दुरुस्ती प्रवर्द्धन गर्नु रहेको सैनामैना नगर खेलकुद समितिका सचिव डि आर गैरेले बताउनुभयो ।
सैनामैनाको यो प्रतियोगिता खेलकुद क्षेत्रमा नयाँ प्रतिभा खोजी गर्ने र स्थानीयस्तरमा खेलकुदलाई प्रवर्द्धन गर्ने महत्त्वपूर्ण अवसर हुने विश्वास गरिएको सैनामैना नगरपालिकाका नगर प्रमुख फणेन्द्र प्रसाद शर्माले बताउनुभयो ।
प्रतियोगितामा सहभागी हुने सैनामैना नगरभित्रका विभिन्न विद्यालयका विद्यार्थीहरुले विभिन्न खेलकुदहरुमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको अन्त्यमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यालय तथा विद्यार्थीहरुलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।